राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कर्णालीलाई विशेष प्राथमिकतामा राखेको बताएका छन्।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन गर्दै उनले कर्णालीबाट रास्वपाले मत पाउनु वा नपाउनुका आधारमा सरकारको प्राथमिकता तय नहुने स्पष्ट पारे।
पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकका लागि प्रदेशस्तरीय प्रशिक्षण औपचारिक रूपमा कर्णालीबाटै सुरु गरिएको हो।
कार्यक्रममा लामिछानेले भने, 'चुनावमा कर्णालीमा अन्य ठाउँको जस्तो उपस्थिति हुन सकेन, तर हामीले मत पाउनु र नपाउनुले अर्थ राख्दैन। हाम्रा मान्छे जिताइदेऊ अनि हामी विकास गर्छौं भनेर सौदाबाजी गर्न आएका होइनौँ।'
उनले कर्णालीबाट रास्वपालाई मत नआए पनि पार्टी सरकारमा रहुन्जेल यस प्रदेशलाई प्राथमिकतामा राख्न नछाड्ने दाबी गरे।
'रातो होइन, निलो क्रान्तिबाट विद्रोह गर्यौँ'
सभापति लामिछानेले पुराना दल र उनीहरूको व्यवहारविरुद्ध गर्न खोजिएको विद्रोह रास्वपाले 'निलो क्रान्ति'मार्फत गरेको जिकिर गरे।
'विद्रोहसँग जोडिएर कर्णालीले धेरै गुमाएको छ। विद्रोहसँग सिंगो देश डराइरहेका बेला कर्णाली विशेष गरी डराएको थियो,' उनले भने, 'हामीले रातो क्रान्ति होइन, निलो क्रान्तिबाट विद्रोह गर्यौँ र चार वर्षको अन्तरालमा बहुमतको सरकार बनाउन सफल भयौँ।'