सुदूरपश्चिम प्रदेशको फुटबल विकास र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यसहित धनगढीमा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप–२०८३ आयोजना हुने भएको छ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा आगामी २०८३ पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ।
क्लबले २०७३ सालदेखि निरन्तर खप्तड गोल्डकप आयोजना गर्दै आएको छ। प्रतियोगितामार्फत सुदूरपश्चिम प्रदेशको फुटबल खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलप्रति युवाको आकर्षण बढाउनु, खेल पर्यटनको विकास गर्नु तथा प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। क्लबका महासचिव प्रकाश शाहीका अनुसार
प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ।
त्यसैगरी, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
प्रतियोगिता सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, उद्योगी, व्यवसायी, खेलप्रेमी, खेलकुदसँग सम्बन्धित संघसंस्था तथा आम नागरिकको सहयोग अपेक्षा गरिएको क्लबले जनाएको छ।
सुदूरपश्चिमको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको खप्तड गोल्डकपलाई थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने लक्ष्य आयोजकले राखेको छ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार , संरक्षक तथा खेल सम्बद्द ब्यक्तिहरुले प्रतियोगिता सम्पन्न गर्ने सुझाव दिएका थिए।