दीपावली पर्व सकिएसँगै आज (शुक्रबार) देखि छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।
आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा परिचित छठको तयारीमा स्थानीयवासी जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ।
छठघाट निर्माण तथा सजावटमा विशेषगरी युवाहरू सक्रिय देखिएका छन्। बाँसका भाटा र झिक्राको प्रयोग गरी घाट सजाउने, घरको लिपपोत तथा रङरोगन गर्ने र सडक तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ।
पर्व नजिकिएसँगै मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किनमेल गर्नेको भीड बढेको छ। केराका घरी, उखुका लाँक्रा, अदुवा, बेसारका बोट, ज्यामिरलगायत पूजामा आवश्यक सामग्रीको बिक्री बढेको छ। त्यस्तै, बाँसबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो तथा माटाका दियो, गाग्री र अन्य भाँडाकुँडाको माग पनि बढेको छ।
छठ पर्वका लागि घरघरमा प्रसाद तयार गर्ने चटारोसमेत बढेको छ। ठकुवा र भुसुवालगायत परम्परागत प्रसाद बनाउन गृहिणीहरू व्यस्त छन्। यस पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्यको सहयोगमा विधिपूर्वक प्रसाद तयार गर्ने परम्परा छ।
मिथिला क्षेत्रमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।
सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने यस पर्वमा व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ उपवास तथा पूजा गर्छन्। छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र समानताको सन्देशसमेत दिने विश्वास गरिन्छ।
यस अवसरमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यको उपासना गर्ने परम्परा छ।