नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज कार्तिक शुक्ल द्वितीयाका अवसरमा देशभर भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दीर्घायु, आरोग्य, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको अभिजित् मुहूर्त उत्तम रहेको छ। यद्यपि भाइटीका दिनभर लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ। राज्य सञ्चालकहरूले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।
यस वर्ष भाइटीका लगाउँदा दिदीबहिनीले पूर्व फर्केर र दाजुभाइले पश्चिम फर्केर बस्नुपर्ने समितिले जनाएको छ।
भाइटीकाका दिन लक्ष्मीपूजाका अवसरमा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज, यमुना, चित्रगुप्तलगायत देवीदेवताको आराधना गर्ने धार्मिक परम्परा छ। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका तथा माला लगाइदिने चलन छ।
टीकाको रङका विषयमा सप्तरङ्गी टीका प्रचलनमा रहे पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका उल्लेख गरिएको छ। दिदीबहिनीले दाजुभाइलाई मखमली, सयपत्री तथा गोदावरी फूलको माला लगाइदिने र ओखर, कटुस, मरमसला तथा सेलरोटीलगायतका परिकार दिने परम्परा छ।
टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा तथा सौभाग्यका सामग्री प्रदान गरी सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक मान्यता रहेको छ।
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वासका साथ भाइटीका पर्व मनाइन्छ।