सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले अदालतको अन्तिम फैसला नआएसम्म नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली जिल्ला अधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले पार्टीको आधिकारिक नेतृत्वबारे कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो।
“हामी स्पष्ट रूपमा पार्टीका आधिकारिक सभापति शेरबहादुर देउवाको पक्षमा छौँ,” उहाँले भन्नुभयो, “हामी निष्पक्ष रूपमा एक ठाउँमा छौँ र संगठित छौँ।”
नेता शाहले कैलाली जिल्ला अधिवेशनलाई एकता र सहमतिका आधारमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। अधिवेशन नेतृत्व चयनमा मात्रै सीमित नभई पार्टीको विचार, दृष्टिकोण, कार्यकर्ताको भावना र जनताको अपेक्षालाई समेट्ने दस्तावेजसहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
जिल्ला अधिवेशन संयोजक खेम डगौरा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, कैलाली जिल्ला सभापति, कार्यवाहक सभापति, क्षेत्रीय तथा नगर सभापतिलगायत जिल्ला, क्षेत्र र नगर तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको छलफलपछि नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते धनगढीमा गर्ने निर्णयसमेत गरिएको छ।