नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चुनावभन्दा दुईदेखि तीन महिनाअघि नै टुंगो लगाइने बताएका छन्।
स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा जस्तो अन्तिम समयमा टिकट वितरण गर्ने परिपाटी अब अन्त्य गरिने बताए। पार्टीका सदस्यहरूले डिजिटल मतदानमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था विधानमा समावेश गरिएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा लागू गरिने जानकारी दिए।
उनका अनुसार डिजिटल मतदानसहितको उम्मेदवार छनोट प्रक्रियाको सुरुवात स्थानीय तहका उम्मेदवार चयनबाट गरिनेछ। सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र त्यसपछि विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवार तय गरिने उनले बताए।
सभापति थापाले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने गरी पार्टी अघि बढ्ने स्पष्ट पारे।
एक महिनाभित्र क्रियाशील सदस्यता अद्यावधिक गरिने
सभापति थापाले पार्टीका क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया एक महिनाभित्रै सम्पन्न गरिने पनि बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता अद्यावधिक नगरेका सदस्यलाई समेत अधिवेशनमा सहभागी गराइएको उल्लेख गर्दै उनले उनीहरूको सदस्यता अद्यावधिक गर्ने काम छिट्टै अघि बढाइने बताए।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कात्तिक १२ गते हुने जानकारी दिँदै सभापति थापाले त्यसपछि बस्ने केन्द्रीय समिति बैठकबाट जनजागरणलगायत विभिन्न अभियान सञ्चालन गर्ने तयारी रहेको बताए।
कांग्रेसले उम्मेदवार छनोटमा डिजिटल मतदानको व्यवस्था कार्यान्वयन गरेमा स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित हुने अपेक्षा गरिएको छ।