नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ।
३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी मानिन्छन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो खेल कौशल देखाइसकेका छन्।
एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।
सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ रहेको छ। उनले टी–२० क्रिकेटमा १०६ छक्का प्रहार गरिसकेका छन्।
एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।
सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले केही समय क्रिकेटबाट टाढिएका एलेन सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए। त्यसपछि उनले राष्ट्रिय टोलीबाट सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा सहभागिता जनाएका छन्।
एलेनको अनुबन्धसँगै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको एनपीएलमा आफ्नो टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ। उनको आक्रामक ब्याटिङ र स्पिन बलिङ टोलीका लागि महत्त्वपूर्ण बन्न सक्नेछ।