राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक ओझाले कैलालीको गोदावरी नगरपालिकाको मेयर पदका लागि आवेदन दिएका छन् ।
ओझाले दसैँको दिन शुभसाइत पारेर पार्टीको ‘नगरपालिका क्यान्डिडेट क्लब’मार्फत मेयर पदका लागि आवेदन दिएका हुन् ।
आवेदन दिएपछि ओझाले आफूले मेयर पदका लागि आवेदन दिएको पुष्टि गर्दै पार्टीको क्यान्डिडेट क्लबको वेबसाइटमार्फत आवेदन भरेको बताए ।
‘हो, मैले मेयरका लागि आवेदन दिएको छु । पार्टीको क्यान्डिडेट क्लबको वेबसाइटमा आफ्नो आवेदन भरेको हुँ,’ उनले भने, ‘म लामो समयदेखि रास्वपाको दुःख–सुखमा साथमा छु । त्यसैले पार्टीका साथीहरूले मलाई विश्वास गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’
रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै शुक्रबारदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गरेको छ । पार्टीले आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो ।
यस प्रक्रियाअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।
ओझाको आवेदनसँगै गोदावरी नगरपालिकाको मेयर पदमा रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षा सार्वजनिक भएको छ । यद्यपि, आवेदन दिनु नै पार्टीको आधिकारिक उम्मेदवार चयन हुनु भने होइन ।