महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा पूजाआजा तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजा गरिनुका साथै राँगा र बोकाको बलि दिने परम्परा छ। दसैँको दिन पनि मन्दिरमा भव्य पूजाआजा हुने गर्दछ।
अष्टमी मेला भर्न सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट समेत धार्मिक भक्तजन आउने गरेका छन्।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक प्रमुख शक्तिपीठका रूपमा लिइन्छ। किंवदन्तीअनुसार करिब २ हजार ५०० वर्षअघि हालको अमरगढी नगरपालिका–८, लटाउली गाउँमा खेत जोत्ने क्रममा हलोको फालीले शिलामा लाग्दा रगत बगेपछि देवी उत्पत्ति भएको विश्वास गरिन्छ।
त्यस घटनापछि देवीको दर्शन प्राप्त भएको जनविश्वास रहिआएको छ। त्यसयता उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पूजा गर्दै आइएको छ। लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डितहरू परम्परागत रूपमा मन्दिरका पुजारी रहँदै आएका छन्।
विशाल फाँटमा अवस्थित उग्रतारा मन्दिर डाँडामाथि रहेकाले त्यहाँ पुग्न ओरालो झर्नु नपर्ने विशेषता पनि रहेको अध्यक्ष साँकीले बताएका छन्।
यस मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजासहित प्रसिद्ध देइजात मेला लाग्ने गर्दछ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको उक्त मेलामा प्राचीनकालमा विभिन्न गर्खाका लडाकुबीच वीरता प्रदर्शनका क्रममा युद्ध हुने गरेको जनश्रुति छ। उक्त युद्धमा बगेको रगतसँग जोडिएको स्थानलाई न्वाखोलाका रूपमा चिनिने किंवदन्ती रहेको छ।
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमको धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण तीर्थस्थल हो।