सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद्का समयमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीलाई थप सक्षम र स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले बदलिँदो समयसँगै अपराधका स्वरूपमा समेत परिवर्तन भइरहेकाले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन्।
उनले नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव तथा कानुनी शासन कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण र अनुकरणीय रहेको उल्लेख गरे। विशेषगरी विपद्का समयमा खोज तथा उद्धारदेखि शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरीले अग्रणी भूमिका खेल्दै आएको उनको भनाइ थियो।
पछिल्लो समय साइबर अपराधलगायत विभिन्न आपराधिक गतिविधि बढ्दै गएकाले तिनको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरी सङ्गठनलाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउन आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए।
प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, आधुनिक प्रविधि तथा स्रोतसाधनको उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्न तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई थप व्यवस्थित, बलियो र स्रोतसाधन सम्पन्न बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।
नेपाल प्रहरीले आगामी दिनमा पनि नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रहरीको जिम्मेवारी, समर्पण र योगदानको प्रशंसा गरे।