प्रधानमन्त्री बालेन्द्र शाहले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गरेका छन्।
बडादसैँको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले दसैँले नेपाली समाजमा एकता, आत्मीयता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै सबैलाई सत्यको मार्गमा हिँड्न आग्रह गरेका छन्।
शुभकामना सन्देशमा उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय कमजोरीमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक रूपमा गलत प्रवृत्तिको अन्त्य गर्दै व्यक्तिगत जीवनमा समेत सकारात्मक सोच र सदाचारलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। विपत्तिबाट प्रभावित तथा विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उनले उल्लेख गरेका छन्।
त्यस्तै, रोजगारीका लागि विदेशिन बाध्य नेपाली नागरिकले चाडपर्वका बेला परिवारसँगै बसेर दसैँ मनाउन नपाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमै रोजगारी र आर्थिक समृद्धिको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकको समृद्धि, सुशासन र सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले माता दुर्गाभवानीको कृपाले सबै नेपालीलाई सत्य र सुशासनको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामनासहित सभ्य, भव्य र सद्भावपूर्ण रूपमा बडादसैँ मनाउन आग्रह गरेका छन्।