प्रधानमन्त्री बालेन शाहले नेपाल प्रहरीलाई सम्भावित विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्।
उनले प्रहरी कर्मचारी, आश्रित परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।
प्रधानमन्त्री शाहले हालैको भोटेकोशी–त्रिशूली विपद्लगायत विभिन्न कालखण्डमा कर्तव्य पालनाका क्रममा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै उनले ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास व्यक्त गरे।
पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यसका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटलाई एकीकृत गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था मिलाइँदै छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर अग्रभागमा खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सङ्कटका बेला राष्ट्रसेवकको वास्तविक परीक्षा हुने बताए। धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट सामना गर्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रहरीको विपद् व्यवस्थापन, प्रविधि विस्तार तथा पूर्वाधार विकासमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई पनि प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए।