गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेमा बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदी थुनिएर बनेको अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना कम देखिएको छ।
प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरको अध्ययन गर्दा पहिरोले नदी थुनिएर बनेको अवरोध फुट्दा एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। घटनाको वास्तविक कारणबारे थप प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान ६ः३० बजे २.२८ मिटर रहेको जलसतह बढेर ७ः५० बजे ५.०१ मिटर पुगेको थियो। त्यसपछि पुनः तीव्र रूपमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो।
बाढीले पुलसहित बाढी मापन केन्द्र बगाएपछि थप विवरण प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर र खतरा तह ५ मिटर निर्धारण गरिएको छ।
बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासाथ महाशाखाले नदी तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाएको थियो।
बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत बुढीगण्डकी नदी किनारका जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र कोरिडोरमा आवागमन बन्द गर्न आग्रह गरिएको थियो।
त्यस्तै, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा सावधानी अपनाउन अपिल गरिएको थियो।
बिहान ९ः२५ बजे पुनः एसएमएस पठाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन अनुरोध गरिएको महाशाखाले जनाएको छ। यस अवधिमा दुई पटक गरी करिब दुई लाख एसएमएस पठाइएको थियो।
महाशाखाले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायमै रहेकाले पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
घटनाको थप प्राविधिक विश्लेषणबाट प्राप्त निष्कर्ष र बाढीको अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गरिने महाशाखाका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईले बताएका छन्।