राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदै छौँ अभियान–२०८३’ अन्तर्गत पार्टीका नेता श्रद्धा कुँवर र डा. तारा जोशी गोदावरी नगरपालिका पुगेका छन्।
कार्यक्रममा उनीहरूले स्थानीय नेता तथा कार्यकर्ताका कुरा सुन्दै पार्टीको नीति, विचार र योजनाबारे जानकारी गराएका थिए।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब’का विषयमा समेत अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा निर्वाचनको तयारी, उम्मेदवार छनोटको प्रक्रिया तथा पार्टीको आगामी रणनीतिका विषयमा छलफल भएको जनाइएको छ।
अन्तरक्रियाका क्रममा सहभागी कार्यकर्ताहरूले पार्टीमा महिला सहभागिता र नेतृत्वमा महिलाको प्रतिनिधित्वका विषयमा प्रश्न उठाएका थिए।
त्यस्तै, सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई बढी प्राथमिकता दिँदा संगठन निर्माणमा लामो समयदेखि खटिएका नेता तथा कार्यकर्ताको योगदानको उचित मूल्यांकन नहुने हो कि भन्ने चिन्तासमेत व्यक्त गरेका थिए।
कार्यकर्ताहरूले पार्टीभित्र संगठनमा गरेको काम, योगदान र सक्रियताका आधारमा उचित मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन्।