कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ। रंगशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्वाधार निर्माणका लागि अनलाइन बोलपत्र आह्वान गरेको हो।
मंसिर ४ गते (२० नोभेम्बर २०२६) प्रकाशित गरेको सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (NCB) प्रक्रियामार्फत निर्माण कम्पनीहरूबाट आवेदन माग गरिएको छ।
बोलपत्रसम्बन्धी सूचनामा निर्माण कार्यका लागि ५४ लाख रुपैयाँ बोलपत्र जमानत (Bid Security) तोकिएको छ। बोलपत्रको मान्य अवधि ९० दिन र बिड बन्डको मान्य अवधि १२० दिन रहने उल्लेख छ। निर्माण कार्यका लागि एक चरण दुई खाम (Single Stage Two Envelope) बोलपत्र प्रक्रिया अपनाइने जनाइएको छ।
त्यस्तै, निर्माण कम्पनीले वार्षिक कारोबार तथा समान प्रकृतिको निर्माण अनुभवसम्बन्धी योग्यता पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान भएसँगै सुदूरपश्चिमवासीको लामो समयदेखिको रंगशाला निर्माणको सपना साकार हुने अपेक्षा बढेको छ।
रंगशाला निर्माण सम्पन्न भएमा धनगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।