अमेरिकामा बस्दै आएकी नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीको अदालतले मंगलबार भट्टलाई दोषी ठहर गरेको हो।
अदालतमा भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो। उनको सजाय निर्धारण सन् २०२७ को मार्च महिनामा हुने तय भएको छ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा कार्यरत थिए। त्यसबेला सेती प्रादेशिक अस्पताल आसपासका दुईवटा मेडिकलमा उनको लगानीसमेत रहेको थियो। व्यवसाय सञ्चालन गरिरहेका उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए।
अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले अमेरिका पुगेका नरेश एक वर्षपछि अर्थात् २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए। पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए।
सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए। २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको विवाह भएको करिब आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन्। उनीहरूकी एक वर्षअघि छोरी जन्मिएकी थिइन्।
ममतलाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा उनको कार्यस्थलमा देखिएको थियो। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन तथा सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन।
ममताका सहकर्मीहरूको आग्रहपछि अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो। त्यसक्रममा नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा रहेका परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए।
तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएपछि घरमा खानतलासी गरेको थियो। त्यसपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो।
अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको ममता काफ्ले हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्।