साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी ‘प्रभात’को नामबाट स्थापित पद्म प्रभात प्रतिष्ठान, धनगढीले साहित्य, पत्रकारिता तथा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले तीन वटा पुरस्कार स्थापना गरेको छ।
प्रतिष्ठानको शनिबार धनगढीमा बसेको बैठकले रु. १ लाख ११ हजार १ सय ११ नगद राशीको ‘पद्म प्रभात प्राज्ञिक पुरस्कार’, रु. ११ हजार १ सय ११ नगद राशीको ‘पद्म प्रभात पत्रकारिता पुरस्कार’ तथा रु. ११ हजार १ सय ११ नगद राशीको ‘भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो।
उक्त पुरस्कारहरूलाई दीर्घकालीन रूपमा निरन्तरता दिन प्रतिष्ठानले रु. २० लाखको अक्षयकोष समेत व्यवस्था गरेको छ। प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरीका अनुसार, यी पुरस्कारहरू वि.सं. २०८२ सालदेखि नियमित रूपमा प्रदान गर्न सुरु गरिने छ।
यसैगरी, पुरस्कारका लागि योग्य व्यक्ति तथा संस्थाको छनोट गर्न वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरको संयोजकत्वमा महाकाव्यकार मनिराज जोशी तथा साहित्यकार एवं सहायक प्राध्यापक गणेशराज जोशी सदस्य रहेको प्रतिभा छनोट उपसमिति गठन गरिएको छ।
प्रतिष्ठानले यी पुरस्कार स्थापनाले साहित्यिक अनुसन्धान, जिम्मेवार पत्रकारिता तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।