कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ।
सुदूरपश्चिम क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को प्रवर्द्धनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक कार्यक्रमबीच गर्नुभएको हो।
प्रतियोगितामा देशका सातै प्रदेशका टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ। उक्त खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ।
मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदान र कञ्चनपुरको कभर्डहल खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ।
प्रतियोगिताले नेपाली क्रिकेटको भविष्यका रूपमा रहेका युवा खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।