समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली पर्यटनलाई खेलकुदसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपी हिमालको पहिचान स्थापित गर्ने उद्देश्यले आगामी कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच प्रतिस्पर्धा हुन लागेको हो।
अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गर्न लागेको ‘अपी हिमाल पर्यटन उत्सव–२०८३’ अन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। तराईका क्रिकेट मैदानमा सीमित खेल गतिविधिलाई उच्च हिमाली आधार शिविरसम्म पुर्याउने यो प्रयासलाई पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०१४ सेप्टेम्बर २६ मा तान्जानियाको किलिमन्जारो पर्वतमा समुद्री सतहबाट पाँच हजार ७५२ मिटर उचाइमा क्रिकेट खेलिएको थियो। त्यसअघि सन् २००९ अप्रिल २१ मा नेपालको सगरमाथा क्षेत्रमा पर्ने गोरकशेपमा पाँच हजार १६४ मिटर उचाइमा ‘द एभरेस्ट टेस्ट’ आयोजना भएको थियो। अपीमा हुन लागेको प्रतियोगिता विश्वकै उच्च स्थानको खेल नभए पनि सुदूरपश्चिमको हिमाली पर्यटन प्रवर्द्धनका लागि विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ।
सात हजार १३२ मिटर अग्लो अपी हिमालको काखमा रहेको बेसक्याम्प प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, जैविक विविधता र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्य हो। अपी–नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने पिलकन्द मैदान, उच्च हिमाली पाटन तथा कालीढुङ्गा ताललगायतका प्राकृतिक आकर्षणले यस क्षेत्रलाई पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएका छन्।
तीनदिने उत्सवमार्फत अपी हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, रोजगारी, आयआर्जन र ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने गाउँपालिकाको लक्ष्य छ। गाउँपालिकाले यस वर्ष अपी क्षेत्रमा १० हजार पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको छ।
प्रतियोगिताको आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास बी. शाहीले सहकार्य गरेका छन्।
शाहीले अपी हिमालको करिब चार हजार मिटर उचाइमा रहेको सुन्दर बेसक्याम्पमा क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानमा सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताएका छन्। क्रिकेट खेलमा मात्र सीमित नभई पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र क्षेत्रीय पहिचानको सशक्त माध्यम बन्न सक्ने उनको भनाइ छ।
यस्तै, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी क्षेत्रको पर्यटन विकास, प्रचारप्रसार र स्थानीय आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर उत्सव आयोजना गरिएको बताएका छन्। उच्च हिमाली क्षेत्रमा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले अपीको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार उत्सवको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने तय भएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अपी हिमाल बेसक्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अपी क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाएको थियो। प्रधानमन्त्रीको भिडियो सार्वजनिक भएपछि बेसक्याम्पप्रति पर्यटकको आकर्षण बढ्नुका साथै पर्यटकको आवागमनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ।
खेलकुद, पर्यटन र स्थानीय आर्थिक विकासलाई एकैसाथ जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको अपी हिमाल पर्यटन उत्सवले सुदूरपश्चिमको हिमाली पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।