नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। त्यस्तै, इशान पाण्डेले ३७ रनको योगदान दिए।
दीपेन्द्र र इशानबीच चौथो विकेटका लागि भएको ७४ रनको साझेदारी सुदूरपश्चिमको जितमा निर्णायक बन्यो। ओपनर विनोद भण्डारी ४ रनमा आउट हुँदा सैफ जैबले १५ रन बनाए। इशान पाण्डे ३७ रन बनाएर आउट भए भने शेरफेन रदरफोर्ड ८ रनमा अविजित रहे।
पोखराका बलर धनञ्जय लक्सन, मेहेदी हसन र शकिब अल हसनले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका लागि अर्जुन घर्ती मगरले सर्वाधिक ४० रन बनाउँदै अविजित रहे। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान कुशल भुर्तेलले २१, मेहेदी हसनले २१ बलमा २९ रन तथा शकिब अल हसनले १४ रन बनाए। धनञ्जय लक्सनले ११ रनको योगदान दिए।
सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिए। हेमन्त धामी, स्कट केग्गुलिन र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। पहिलो खेलमा ८७ रनमै समेटिएको सुदूरपश्चिमले दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै पुनरागमन गरेको छ।
पोखरा एभेन्जर्सले भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको हो।