बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै विशेषगरी शुक्रबार र शनिबार वर्षाको गतिविधि बढ्ने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमबीच पर्ने यानम नजिकको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
बुलेटिन अनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुनेछ। कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।
सम्भावित वर्षाले धानबाली भित्र्याउने कार्य प्रभावित हुन सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र प्रतिकूल मौसममा सुरक्षित स्थानमा रहन पनि महाशाखाले अनुरोध गरेको छ।
वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न आग्रह गरिएको छ।
— रासस