कैलालीमा असोज महिनामा १५८ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार चालु मुद्दाको अनुसन्धानका क्रममा १५९ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार असोज महिनामा ज्यानसम्बन्धी २६, आत्महत्यासम्बन्धी २४, चोरीसम्बन्धी १३, संगठित तथा आर्थिक अपराधका २९, सामाजिक अपराधका १८, महिला तथा बालबालिकासम्बन्धी १७, सवारी ज्यानका ८ र अन्य २३ वटा मुद्दा दर्ता भएका छन्।
यसैगरी, कर्तव्य ज्यानका ३, बैंकिङ कसुरका १९, जुवातासका ३, ठगीका ८ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित १७ वटा घटना दर्ता भएको विवरणमा उल्लेख छ।
१५९ पक्राउ, ३८ जना अझै फरार
चालु मुद्दाको अनुसन्धानका क्रममा १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने ३८ जना पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। सार्वजनिक चासोका १४३ वटा विचाराधीन मुद्दामध्ये एउटा मुद्दा फर्छ्योट गरिएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ११ वर्ष २ महिना ८ दिन कैद तथा ६ लाख ४५ हजार ३६२ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधका २२ मुद्दा, ४१ जना पक्राउ
असोज महिनामा लागूऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएका छन्। यस क्रममा एक महिलासहित ४१ जना पक्राउ परेका छन्।
प्रहरीले उक्त अवधिमा ४० ग्राम ५९० मिलिग्राम हेरोइन, ६४ ग्राम चरेस र ४ ग्राम १८० मिलिग्राम गाँजा बरामद गरेको विवरणमा उल्लेख छ।
घरेलु हिंसाका ३४ उजुरीमा मिलापत्र
प्रहरीका अनुसार असोज महिनामा घरेलु हिंसासम्बन्धी ३४ वटा उजुरी परेका थिए। ती सबै उजुरीमा मिलापत्र गराइएको जनाइएको छ। त्यस्तै, प्रहरी कार्यालयमा परेका २६६ वटा ठाडो उजुरी पनि फर्छ्योट गरिएको छ।
हराएका ७३ मध्ये ४४ जना फेला
असोज महिनामा हराएका ७३ जनामध्ये ४४ जना फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेकामा ३४ महिला, ५ बालक, १६ बालिका, १७ पुरुष र २ ज्येष्ठ नागरिक उल्लेख छन्।