भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री नै जनतामाझ पुगेर उनीहरूका समस्या सुन्नुपर्ने बताएकी छन्।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका काम र आगामी योजनाबारे जनतालाई जानकारी गराउन आफू चितवन आएको बताइन्। उनी भूमिहीन नागरिक तथा सहकारीपीडितका समस्या समाधानका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउन चितवन पुगेकी हुन्।
मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीपीडितको बचत फिर्ता गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताइन्। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसलाई थप तीव्रताका साथ अघि बढाइने जानकारी दिइन्।
‘धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रावलले जनतामाझ पुगेर उनीहरूका समस्या सुन्ने र सरकारले गरिरहेका कामबारे जानकारी गराउने अभियानमा आफू रहेको बताइन्।
‘सरकारले जनताको हकहितमा के काम गरिरहेको छ र आगामी कार्ययोजना के छ भन्नेबारे जनतालाई बताउनुपर्ने छ। उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ,’ उनले भनिन्।
भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने
मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट हटाइने हो कि भन्ने भूमिहीन नागरिकको आशंका हटाउनुपर्ने बताइन्। सरकारले भूमिहीनको समस्या समाधानका लागि काम गरिरहेको उल्लेख गर्दै उनले कानुनी जटिलता सुधार गरेर अघि बढिएको स्पष्ट पारिन्।
‘त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौँ। कानुनी जटिलता बाधक थियो, त्यसलाई सच्याएर सरकार अघि बढेको छ,’ उनले भनिन्।
लामो समयदेखि बसोबास गर्दै आएको स्थानकै जग्गा उपलब्ध गराउन देखिएका कानुनी अड्चन हटाएर जग्गाधनी पुर्जा वितरण गरिने उनको भनाइ छ। आवश्यक नीतिगत सुधार गरिसकिएको उल्लेख गर्दै उनले कार्यान्वयनका क्रममा देखिने समस्या पनि समाधान गर्दै सरकार अघि बढ्ने बताइन्।
‘जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो, त्यो गरिसकेका छौँ। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ,’ मन्त्री रावलले भनिन्।
मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने र सहकारीपीडितको बचत फिर्ता गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।