चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनको माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न सरकारलाई थप दुई दिनको अल्टिमेटम दिएका छन्।
यसअघि कात्तिक २ गते सात दिनको अल्टिमेटम दिएका केसीले दसैँ बिदाका कारण सरकारले माग सम्बोधन गर्न थप समय पाओस् भन्ने उद्देश्यले समयसीमा दुई दिन थप गरेका हुन्।
थपिएको समयभित्र पनि माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी उनले दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।
यस्ता छन् डा. केसीका चार माग
१. न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेको अवस्थामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्नुपर्ने। नेपाली आर्मी मेडिकल कलेजलगायत विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्नुपर्ने।
२. निर्णय प्रक्रियामा संलग्न आयोग तथा विश्वविद्यालयका पदाधिकारीको भूमिकाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने। अयोग्य तथा स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने।
३. दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक मापदण्ड पूरा भएपछि मात्रै गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने।
४. २०८३ साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने।
डा. केसीले माग सम्बोधनका लागि सरकारलाई दिएको थप समयभित्र पनि ठोस कदम नचालिए सत्याग्रहलगायतका कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।