सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा शान्ति, सदाचार र सामाजिक सद्भाव कायम गर्न ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको आवश्यकता झन् बढ्दै गएको बताउनुभयो।
उहाँले समाजमा दया, करुणा र सद्भाव कमजोर हुँदै गएको उल्लेख गर्दै सकारात्मक सोच, नैतिक मूल्य र आध्यात्मिक चेतनाको विकासमार्फत समाजलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
समाज रूपान्तरणका लागि संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री भट्टले यसको सर्वाङ्गीण विकासमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै संघीयताका कारण स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसारका विकास निर्माणका काम प्रदेशस्तरबाट समेत गर्न सम्भव भएको बताउनुभयो।
प्रदेश सरकारले निर्माण गरेका संरचना तथा उपलब्ध गराएका सेवा–सुविधाको उपयोग र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेशमा कुनै काम नै भएको छैन भन्ने भाष्य निर्माण हुनु दुःखद भएको टिप्पणी गर्नुभयो।
सरकारका कामप्रति हुने रचनात्मक आलोचना र खबरदारीलाई आफूले सधैँ सकारात्मक रूपमा लिने गरेको बताउँदै उहाँले सुदूरपश्चिमलाई सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिनुभयो।