महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल भत्काएपछि पुल आसपासका होटल तथा पर्यटन व्यवसाय धराशायी बनेका छन्।
गत असोज दोस्रो साता आएको बाढीले दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भत्काएपछि आवागमन बन्द गरिएको छ। पुल बन्द भएसँगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घटेको छ भने आसपासका होटल तथा व्यवसायमा प्रत्यक्ष असर परेको छ।
होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार पुलको दुवैतर्फ ताला लगाएर आवागमन पूर्ण रूपमा बन्द गरिएपछि व्यवसाय ठप्प भएको छ।
‘पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो। स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ। हिँडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धराशायी बन्यो,’ उनले भने।
उनका अनुसार दसैँ–तिहारको समयमा पर्यटकको चहलपहल बढ्ने र यही समयमा वर्षभरिको राम्रो आम्दानी हुने गरेको थियो। तर यस वर्ष पुल बन्द हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।
‘दैनिक आठ–दश हजार रुपैयाँ कमाइ हुन्थ्यो। अहिले त ठप्प भयो,’ सिंहले भने। उनले महाकाली नदीमा पानीको सतह घटिसकेकाले पुल पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन्।
पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष समय लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार दसैँ–तिहारको समयमा दैनिक दुईदेखि तीन हजार पर्यटक झोलुङ्गे पुल अवलोकनका लागि आउने गरेका थिए। हिउँदको समयमा शैक्षिक भ्रमणका कारण पनि यस क्षेत्रमा पर्यटकको चहलपहल हुने गरेको थियो।
‘दसैँ–तिहारका बेला भरिभराउ हुने झोलुङ्गे पुल यो वर्ष सुनसान छ। पुल बन्द हुँदा यसको असर धेरै क्षेत्रमा परेको छ,’ उनले भने।
बोहराले पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू पुगे पनि पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताए। उनले पुल पुनर्निर्माणका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।
यसैबीच, पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार यो पुल आवागमनको माध्यम मात्रै नभई कञ्चनपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत हो।
‘पुल समयमा नबने यहाँ पर्यटकको आवागमनसमेत घट्ने अवस्था छ। पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ,’ मल्लले भने।
पुल पुनर्निर्माणमा भइरहेको ढिलाइले स्थानीयको आवागमनसँगै पर्यटन र होटल व्यवसायमा समेत असर पारेको छ। त्यसैले सम्बन्धित निकायले आवश्यक बजेट र प्राविधिक प्रक्रिया अघि बढाएर पुल पुनर्निर्माणको काम तत्काल सुरु गर्नुपर्ने स्थानीयको माग छ।