नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताका विषयमा प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले बोलेको अडियो आफूलाई सुनाइएको खुलासा गरेका छन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो प्रसंग सार्वजनिक गरेका हुन्।
उनका अनुसार प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले नेकपा एमालेमा केपी शर्मा ओलीलाई र नेपाली कांग्रेसमा शेरबहादुर देउवालाई जसरी पनि कायम राख्ने योजना रहेको भन्दै बोलेको अडियो आफूलाई सुनाइएको थियो।
‘अस्ति हामीले चीनको अडियो सुनिहाल्यौँ। त्योभन्दा तीन दिनअगाडि प्रधानमन्त्री कार्यालयको एक जना वरिष्ठ साथीले बोलेको अडियो एक जना साथीले ल्याएर मलाई सुनाउनुभयो,’ थापाले भने।
थापाले आफूलाई सुनाइएको अडियोमा ती व्यक्तिले एमालेमा जसरी भए पनि केपी ओलीलाई कायम राख्ने र कांग्रेसमा जहाँबाट भए पनि शेरबहादुर देउवालाई खोजेर राख्ने कुरा गरेको उल्लेख गरे।
‘अडियोमा ती साथी के भन्नुहुन्छ भने चीनमा बोलेको सुनेको जस्तै दुईवटा कुरा गर्ने रे। नेकपा एमालेमा जसरी हुन्छ केपी ओलीलाई कायम राख्ने रे। कांग्रेसमा जहाँबाट हुन्छ शेरबहादुर देउवा खोजेर राख्ने रे। यत्ति भयो भने सकियो भन्ने रहेछ,’ थापाले भने।
यद्यपि, थापाले आफू कसले के भन्यो भन्ने विषयमा भन्दा पार्टीको आधिकारिकताको विषयमा केन्द्रित रहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले नै पाउने दाबीसमेत गरे।