सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा उत्थानशील समाज निर्माणको सुरुवात घर, परिवार र समुदायबाटै हुनुपर्ने बताएका छन्।
वेदकोट नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरको व्यवस्थापकीय साझेदारीमा आयोजित छैटौँ कञ्चनपुर सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जनचेतना र सामुदायिक सहभागितालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
‘Resilience Starts at Home’ अर्थात् ‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेश, विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, नदी कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको बताए।
प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा र जोगबुढालगायतका नदी तथा खोलाले पुर्याउने क्षतिले जनजीवन, कृषि र भौतिक पूर्वाधार प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित नभई विपद्अघि नै आवश्यक तयारी गर्नुपर्ने बताए।
‘विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुख आवश्यकता हो,’ उनले भने।
मुख्यमन्त्री भट्टले संघीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले सुरक्षित र उत्थानशील समुदाय निर्माणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए।
कञ्चनपुरका स्थानीय तहहरूले विपद् व्यवस्थापनका क्षेत्रमा थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको उनको भनाइ थियो।
विपद् व्यवस्थापन तथा जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उनले बताए। नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारको क्षमता अभिवृद्धिमा प्रदेश सरकारले साथ दिने प्रतिबद्धता जनाउँदै विकास निर्माणका कामलाई वातावरणमैत्री र विपद् प्रतिरोधी बनाउनुपर्नेमा उनले जोड दिए।
उनले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको पनि बताए।
सम्मेलनमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनले विगतका अनुभव र सिकाइको समीक्षा गर्दै विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका लागि आगामी दिनमा कार्यान्वयन गर्न सकिने ठोस कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।