नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन्।
शाहीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
शेरबहादुर देउवा पक्षले आगामी मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ। अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र चुनावी सरगर्मी बढ्दै गएको छ।
विद्यार्थी राजनीतिबाट उदाएका शाही नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वउपाध्यक्षसमेत हुन्। जेन–जी आन्दोलनपछि उनी कांग्रेसको पक्षमा खरो रूपमा उभिँदै आएका छन्।
शाहीको उम्मेदवारी घोषणासँगै कांग्रेस सुदूरपश्चिमको प्रदेश नेतृत्व चयन थप रोचक बन्ने देखिएको छ।
युवा नेतृत्वको नारासहित मैदानमा उत्रिएका शाहीको उम्मेदवारीलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।