दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा सुदूरपश्चिमका खेलाडी अर्थव सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्दै एक स्वर्ण र दुई रजत पदक जितेका छन्।
नेपालगन्जस्थित पौडी पोखरीमा प्रतियोगिताको दोस्रो दिन अर्थवले पुरुष ४०० मिटर इभेन्टमा स्वर्ण पदक जित्ने क्रममा आफ्नै पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन्। उनले उक्त दूरी ४ मिनेट ५६.७६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे।
यसअघि सन् २०२५ मा अर्थवकै नाममा ४ मिनेट ५८.३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। नयाँ प्रदर्शनसँगै उनले आफ्नै कीर्तिमानमा सुधार गरेका छन्।
यसअघि पनि उनले सुदूरपश्चिमका लागि दुई रजत पदक जितिसकेका थिए। यससँगै अर्थवले प्रतियोगितामा सुदूरपश्चिमलाई एक स्वर्ण र दुई रजत गरी कुल तीन पदक दिलाएका छन्।
एक स्वर्ण र दुई रजत पदकसहित सुदूरपश्चिम प्रदेश अंकतालिकामा छैटौँ स्थानमा रहेको छ।