धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रको सार्वजनिक यातायात सेवा सहज र व्यवस्थित बनाउने उद्देश्यले खरिद गरेका ६ वटा विद्युतीय (EV) गाडी कार्यालयमा आइपुगेका छन्।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म सहज पहुँच पुर्याउने, विद्यार्थी तथा रोजगारीका लागि आवतजावत गर्ने नागरिकको यात्रा सहज बनाउने उद्देश्यले यी गाडी खरिद गरिएको हो।
उपमहानगरपालिकाले उक्त गाडीमार्फत तीनवटा रुटमा यातायात सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित रुटअनुसार पहिलो सेवा वनवेहडा–वडा नं. १७–देवरिया हुँदै धनगढीसम्म सञ्चालन हुनेछ। दोस्रो रुट चौमाला–वडा नं. १६–वडा नं. १५–कनरी हुँदै धनगढीसम्म रहनेछ। त्यस्तै, तेस्रो रुट धनगढी–जुगेडा (वडा नं. १२)–वडा नं. १०, ९ र ८ हुँदै धनगढीसम्म सञ्चालन गरिनेछ।
यी विद्युतीय गाडी सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै विद्यार्थीको शैक्षिक पहुँच, स्थानीय उत्पादनको बजारीकरण र रोजगारीका अवसरसँगको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
ग्रामीण क्षेत्रको सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउँदै सहरी र ग्रामीण बस्तीबीचको सम्बन्ध बलियो बनाउने उपमहानगरपालिकाको लक्ष्य छ।