कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सवको ९ औ दिन (बिहीबार) पनि राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ।
आयोजकका अनुसार आज महोत्सवमा चर्चित गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक सौगात ओझा, गायक तथा हाँस्यकलाकार निशान परियार, गायक मेघान कठायत, राज केशव, डान्सर गङ्गा थापा मगर लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्।
पौष ९ गतेदेखि सुरु भएको महोत्सव पौष १९ गतेसम्म सञ्चालन हुनेछ। अत्तरियाको पूर्वरोडस्थित खुला चौरमा आयोजना गरिएको महोत्सवमा हाल १८० वटा स्टल रहेका छन्।
महोत्सवमा विद्यार्थीका लागि ५० रुपैयाँ र अन्य दर्शकका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।