नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको बडादशैं विधिवत् रूपमा आरम्भ भएको हो।
बडादशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको पूजा आराधना गरिँदैछ। यसै दिन दशैंघर वा पूजा कोठामा विधिपूर्वक जमरा राख्ने परम्परा छ।
धार्मिक विधिअनुसार शुद्ध माटो वा बालुवा राखिएको स्थानमा जौँ रोपेर जमरा उमार्ने गरिन्छ। जौँका पहेँला अङ्कुरलाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ। विजयादशमीका दिन टीका तथा प्रसादसँगै जमरा ग्रहण गर्ने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन निर्धारण गरिएको हो।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्षका रूपमा मनाइन्छ। यस अवधिमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरी शक्ति, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको जनाएको छ।
बडादशैंलाई पारिवारिक मिलन, धार्मिक आस्था, आपसी सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा मनाउने गरिन्छ।