सुदूरपश्चिम प्रदेश सरकारको बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चको यो निर्णयसँगै प्रदेश सरकारलाई नयाँ बजेट ल्याउने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो।
रिटमा चालु आर्थिक वर्षका लागि तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेको र त्यसपछि सरकार परिवर्तन भए पनि नयाँ बजेटसम्बन्धी प्रक्रिया अघि बढ्न नसकेको विषय उठाइएको थियो।
निवेदकले प्रदेशसभामा बजेट प्रस्तुत भइसकेपछि सरकारले त्यसलाई पुनरावलोकन वा परिमार्जन गर्न पाउने–नपाउने विषयमा कानुनी प्रश्न उठाउँदै अदालतको हस्तक्षेप माग गरेका थिए।
तर, सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै निवेदकको माग अस्वीकार गरेको हो।
यससँगै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने प्रक्रिया अघि बढाउन सक्ने भएको छ। प्रदेश सरकारले तत्कालीन सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटलाई पुनर्लेखन गरी नयाँ बजेट ल्याउने तयारी गरेको छ।
अदालतको पछिल्लो निर्णयले बजेटसम्बन्धी कानुनी विवादको अन्तिम निरूपण भने गरिसकेको छैन।