सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको हो।
आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन्।बजेटको खर्च व्यहोर्ने स्रोततर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
मन्त्री मल्लका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी, रोयल्टी बाँडफाँडबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारले गत वर्षको बचतबाट नौ अर्ब ६५ करोड रुपैयाँ उपलब्ध हुने अनुमान गरेको छ। तर, वास्तविक बचत भने चार अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ। अनुमानित र वास्तविक बचतबीचको ठूलो अन्तरले बजेटको स्रोत व्यवस्थापनमा चुनौती देखाएको छ।
यसअघि प्रदेशसभामा पेस भएका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट प्रस्तुत गरिएको हो।
यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवाद र सरकार परिवर्तनका कारण उक्त बजेट पारित हुन सकेको थिएन।
वर्तमान सरकारले पनि अघिल्लो कांग्रेस नेतृत्वको सरकारले प्रस्तुत गरेकै आकारको बजेट ल्याएको छ।