कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि अनुमति तथा विद्यार्थी सिट संख्या निर्धारण गर्न चिकित्सा शिक्षा आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ ।
चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अवस्था लगायतका विषयमा आयोगको टोलीले स्थलगत अध्ययन गरिरहेको हो।
आयोगको टोलीले मंगलबार विश्वविद्यालय परिसर, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ। विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच भएको सम्झौताअनुसार प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पतालमा समेत आयोगको टोलीले अनुगमन गर्नेछ।
अनुगमनपछि आयोगले विश्वविद्यालयमा सञ्चालन गर्न प्रस्तावित चिकित्सा शिक्षा कार्यक्रमका लागि आवश्यक मापदण्ड पूरा भए–नभएको मूल्याङ्कन गर्नेछ। त्यसपछि कार्यक्रम सञ्चालनको अनुमति र विद्यार्थी सिट संख्या निर्धारण सम्बन्धी प्रक्रिया अघि बढ्नेछ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारको बाटो खुलेको भए पनि कार्यक्रम सञ्चालनका लागि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ।
आयोगको यो अनुगमनलाई विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनतर्फको महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।