थुनामा रहेका व्यवसायी दीपक भट्टको मौलिक हक संरक्षण गर्न माग गर्दै उनका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन्।
चतुर्भुजले शुक्रबार आयोगमा निवेदन दिँदै न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोक्न र छोराको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन्।
निवेदनमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा दीपकलाई दोषी करार गरेजस्तो गरी सामग्री प्रकाशित तथा प्रसारित भइरहेको उल्लेख छ। यस्ता गतिविधिले निष्पक्ष सुनुवाइको अधिकार र सामाजिक प्रतिष्ठामा असर परेको चतुर्भुजको दाबी छ।
विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा उनले गम्भीर आपत्ति जनाएका छन्।
चतुर्भुजका अनुसार असोज १७ गते दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो। काठमाडौं जिल्ला अदालत, विशेष अदालत र उच्च अदालत पाटनमा मुद्दाहरू विचाराधीन रहेकै अवस्थामा कारागार स्थानान्तरण गरिएको भन्दै उनले त्यसको आधार, कारण र निर्णय प्रक्रियाबारे स्पष्ट जानकारी नपाइएको निवेदनमा उल्लेख गरेका छन्।
उनले कारागार स्थानान्तरणको निर्णयको औचित्य र आवश्यकताबारे छानबिन गर्न, छोराको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने गतिविधि रोक्न तथा परिवारले भोगिरहेको मानसिक पीडा सम्बोधन गर्न आयोगसँग आग्रह गरेका छन्।
चतुर्भुजले कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारेका छन्। कानुनी प्रक्रिया, निष्पक्ष छानबिन तथा मानव अधिकार र मौलिक हकको संरक्षण नै आफ्नो मुख्य माग रहेको उनको भनाइ छ।