वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुहरूको यात्रालाई सहज, सुरक्षित र दुर्घटनारहित बनाउन कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त आयोजनामा आइतबार बिहान स्थापना गरिएको सहायता कक्षको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले उद्घाटन गरेका हुन्।
उद्घाटनपछि डीआईजी भट्टराईले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा र सुविधालाई प्राथमिकतामा राखेर दुर्घटनारहित सुरक्षा योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गर्दै कैलालीमा १० स्थान र कञ्चनपुरमा ८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा समेत आवश्यकताअनुसार सहायता कक्ष स्थापना गरिने जनाइएको छ।
यात्राका क्रममा कुनै समस्या वा असहजता भएमा यात्रुहरूले नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको हटलाइन १०३, यात्रु सहायता कक्ष वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको अवस्था, चालकको व्यवहार, यात्रुको सुरक्षा तथा सडक अनुशासनमा विशेष निगरानी बढाउने जनाएको छ।