सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन गरेका छन्।
मंगलबार निरीक्षणका क्रममा डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखा, कार्यसम्पादन, नागरिक सेवा प्रवाह तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिएका थिए।
सो अवसरमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले कार्यालयबाट भइरहेको कार्यसम्पादन, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।
निरीक्षणपछि प्रहरी कर्मचारीलाई निर्देशन दिँदै डीआईजी भट्टराईले नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिएका थिए।
उनले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न र घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न निर्देशन दिएका थिए।
त्यस्तै, चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र पेट्रोलिङलाई प्रभावकारी बनाउन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्न उनले निर्देशन दिएका थिए।
निरीक्षणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महरालगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।