नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।
ओमानका लागि जितेन्द्र सिंहले सर्वाधिक २५ रन बनाए। उनले ४१ बलमा २ चौका प्रहार गरे। ओमानका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ३/३ विकेट लिए। ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले २/२ विकेट लिएपछि ओमानको इनिङ्स ६० रनमै समेटिएको हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा ४ चौका प्रहार गरे।
यस्तै, बशीर अहमदले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए। बशीर र दीपेन्द्रले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै कमजोर सुरुआत गरेको नेपालको इनिङ्स सम्हालेका थिए।
नेपालका देव खनाल १३, आसिफ शेख ११, इशान पाण्डे १ र रोहित पौडेल ३ रनमा आउट भए। गुल्सन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्य रनमा आउट भए।
ओमानका जय वीरम ओडेडारा र हस्नैन शाहले ३/३ विकेट लिए। मुहम्मद इमरानले २ तथा शकिल अहमद र मुजीबुर अलीले १/१ विकेट लिए।
अब फाइनलमा यूएईसँग भिड्दै नेपाल
नेपालले अब उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले नेपालका लागि यूएईविरुद्धको फाइनल खेल एसिया कपमा छनोट हुने दृष्टिले महत्वपूर्ण बनेको छ।