ग्रामीण क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि समेत धनगढी बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ।
यसअघि सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार थप गरी अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो। सोमबार आयोजित एक कार्यक्रमबीच वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन्।
अस्पतालबाट पहिलो चरणमा बहिरंग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ। निकट भविष्यमै आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाका साथै विशेषज्ञ चिकित्सकमार्फत पनि उपचार सेवा उपलब्ध गराउने तयारी भइरहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए।
उनका अनुसार हाल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको छ। आवश्यकताअनुसार क्रमशः स्वास्थ्यकर्मी तथा जनशक्ति थप गर्दै लगिनेछ।नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु उपमहानगरपालिकाको प्राथमिकता रहेको बताए। फूलबारी क्षेत्रको समग्र विकासका लागि नगर बस सेवा, घरघरमै पुगेर अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण तथा सहायक सामग्री वितरण, नमुना विद्यालय सञ्चालन र मासिक वडा स्वास्थ्य क्लिनिकजस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।
गाउँमै अस्पताल सञ्चालनमा आएपछि विशेषगरी आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा आकस्मिक बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दा मानकुमारी बस्नेत र खिमलाल बरालले अस्पताल सञ्चालन हुनु खुसीको विषय भएको बताउँदै यसको प्रभावकारिताका लागि पर्याप्त चिकित्सक, स्वास्थ्यकर्मी, आवश्यक औषधि र आधुनिक उपकरणको नियमित व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन्।
स्थानीयस्तरमै अस्पताल सञ्चालनमा आएपछि फूलबारीसहित आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने विश्वास गरिएको छ।