सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा २१६ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर र ३३० जना सामान्य घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अतरियाको भदौ महिनाको कार्यविवरणअनुसार ९ वटै जिल्लामा भएका दुर्घटनामध्ये ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
गत वर्ष १४ ठूला दुर्घटना
गत आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिम प्रदेशमा १४ वटा ठूला सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ३९ जनाको मृत्यु र १४१ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ।ठूला दुर्घटनाको कारण पहिचान गर्न तथ्यांक संकलन गरी आवश्यक सुधारका लागि सम्बन्धित पक्षलाई पत्राचार गरिएको प्रहरीले जनाएको छ।
दैनिक सवारी चेकजाँचदेखि यान्त्रिक परीक्षणसम्म
सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधन चेकजाँचको समय तालिका तयार गरी दैनिक बिहान तोकिएका सवारी साधनमा चेकजाँच गर्ने व्यवस्था लागू गरिएको छ।त्यस्तै, सवारी परीक्षण कार्यालय अत्तरियाको प्राविधिक सहयोगमा सवारी साधनको यान्त्रिक परीक्षण गर्ने उद्देश्यले ‘सवारी साधनहरुको यान्त्रिक परीक्षण कार्ययोजना–२०८३’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
सडक सुरक्षा सुधारका लागि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसमक्ष ट्राफिक लाइट तथा ANPR क्यामेरा जडान, बढी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) पहिचान र सुधार सम्बन्धी प्रतिवेदनसमेत पठाइएको छ।
भदौमा ३,३५५ सवारीमाथि कारबाही
भदौ १ देखि ३० गतेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३५५ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। उनीहरूबाट २७ लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९३ जना चालकलाई कारबाही गरी ३ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
सार्वजनिक यात्रुवाहक सवारीका चालकको तीन पटक लाइसेन्स प्राप्ति (ला.प.से.) चेकजाँच गर्दा ६ जना चालकमा पोजिटिभ देखिएको थियो। उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय पठाइनुका साथै चालक अनुमतिपत्र निलम्बनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइएको छ।
ओभरलोड र स्वरूप परिवर्तन गर्ने सवारीमाथि पनि कारबाही
भदौ महिनामा ओभरलोड ढुवानी गर्ने १८ वटा ट्रकलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। त्यसबाट ८९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।सवारीको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २ वटा मोटरसाइकललाई समेत आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ।
स्वामित्व नखुलेका १० वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ। गैरकानुनी रूपमा चलाइएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने अभियानअन्तर्गत भदौ महिनामा थप ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीलाई ५ वटा मोटरसाइकल हस्तान्तरण
ADB को SASEC Highway Improvement Project अन्तर्गत Black Spot Elimination & Road Safety Improvement Works परियोजनाअन्तर्गत Longjian-Bhimeshwor J.V. ले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई ५ वटा Apache 200 CC मोटरसाइकल हस्तान्तरण गरेको छ।