आज आश्विन सङ्क्रान्ति। देशभरका कालिगढ, श्रमिक तथा उद्योगी–व्यवसायीले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदै छन्।
विश्वकर्मा पूजाका अवसरमा कलकारखाना, वर्कसप तथा विभिन्न उद्योगमा प्रयोग हुने औजार, मेसिनरी र सवारीसाधनको पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार आज औजार तथा यन्त्रको पूजा गरेमा ती लामो समय टिक्ने, कामका क्रममा कम बिग्रने र काममा सफलता प्राप्त हुने विश्वास गरिन्छ।
यस दिन कलकारखाना तथा वर्कसपलाई विशेष रूपमा सजाएर विश्वकर्माको तस्वीर वा मूर्ति स्थापना गरी पूजा गरिन्छ। कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्ध जलाशयमा लगेर विसर्जन गर्ने परम्परा पनि छ।
धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई वास्तु तथा निर्माण विद्याका विशिष्ट ज्ञाताका रूपमा लिइन्छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक विश्वास छ। यही कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा सुरु भएको बताइन्छ।
विश्वकर्मालाई वास्तु विद्याका ज्ञाता मानिने भएकाले आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गरेका छन्। नेपालमा पछिल्लो समय वास्तु विद्याप्रतिको चासो बढ्दै गएको र स्थापत्य वेदमा आधारित आवास तथा शहर निर्माणप्रति पनि आकर्षण बढिरहेको बताइन्छ।
आज विशेषगरी मेकानिक, कालिगढ, इन्जिनियर, उद्योगी तथा प्राविधिक क्षेत्रमा काम गर्नेहरूले आफ्ना औजार, मेसिन र सवारीसाधनको पूजा गरी विश्वकर्मा पर्व मनाउँदै छन्।