रसुवा बाढी तथा पहिरोमा परेर बेपत्ता भएकामध्ये हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अंग रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता छन्। बेपत्तामध्ये २ हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्।
बाढीमा परेर घाइते भएका ९ हजार २८७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ।
पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रवक्ता काफ्लेले बताएका छन्।
शव पहिचानका लागि हालसम्म मृतकका शवबाट १ हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ डीएनए नमुना संकलन गरिएको छ।
उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४४० जना रहेको प्रहरीले जनाएको छ।