नेपाली नारीहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ।
ऋषि पञ्चमीका अवसरमा महिलाहरू बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायणपछि नदी, खोला, तालतलैया तथा पोखरीमा स्नान गर्ने धार्मिक परम्परा छ। यस क्रममा ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ।
यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। धर्मशास्त्रीहरूका अनुसार व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायतका धार्मिक कर्म गर्नुपर्ने हुन्छ।
स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गर्ने गरिन्छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस दिनलाई ऋषि पञ्चमी भनिएको हो।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पूजा महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय उल्लेख भए पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा भएका त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा तथा स्नान गर्ने परम्परा रहिआएको छ। स्नानपछि पञ्चगव्य सेवन गर्ने चलनसमेत रहेको छ।