सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार बन्ढुनी अर्थात् ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्व प्रत्येक वर्ष असोज सङ्क्रान्तिका दिन परम्परागत रूपमा मनाउने गरिन्छ।
विशेषगरी डडेलधुरा, बैतडी, डोटी र अछाम लगायतका जिल्लामा बन्ढुनी पोल्ने चलन छ। बन्ढुनी पोलेपछि देउडा खेल्ने भएकाले यस पर्वले धार्मिक अनुष्ठानसँगै स्थानीय कला, संस्कृति र सामुदायिक सम्बन्धलाई समेत जोड्ने गरेको पण्डित लोकराज भट्टले बताउनुभयो।
धार्मिक मान्यताअनुसार द्वापरयुगमा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई विष खुवाएर मार्न पुगेकी राक्षसी पुतनाको वध गरेको सम्झनामा बन्ढुनी पर्व मनाउने गरिएको बताइन्छ।
भदौ सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन लिङ्गो ठड्याएर रुखका हाँगा, सल्लाका काठ तथा विभिन्न वनस्पति थुपारी बनाइएको बन्ढुनीलाई असोज सङ्क्रान्तिको साँझ वा राति जलाउने परम्परा छ।
यस दिन स्थानीय बासिन्दाले गाईवस्तुको गोठ तथा गोबर थुपार्ने स्थानलाई समेत विशेष रूपमा सजाउने गर्छन्। कांस, अम्रिसोललगायत पाँच जातका घाँसले बेरेर सल्लाको दियालोबाट राँको बनाई त्यसैबाट बन्ढुनीमा आगो लगाउने चलन रहेको स्थानीय बताउँछन्।
बन्ढुनी जलाउने क्रममा स्थानीय भाषामा ‘गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई’ भन्दै काँक्रो मुखमा हालेर फाल्ने तथा बन्ढुनी जलाउने परम्परा छ।
डडेलधुराको अमरगढी नगरपालिका–पोखरा बजारमा बन्ढुनी पर्वका अवसरमा रातभर देउडा खेल्ने गरिन्छ। तिलाडी, पर्केउडा, भाटागाउँ र भट्टराई टोलबाट बाजागाजासहित स्थानीय जम्मा भएर बन्ढुनी पोल्ने गर्छन्।
स्थानीय धामी लक्ष्मण कैनीका अनुसार धामीले सल्लाको दियालोबाट राँको बनाएर देवदेवीका नारा लगाउँदै बन्ढुनी पोल्ने परम्परा छ। पोखरामा परम्परागत रूपमा बिहान करिब ४ बजे बन्ढुनी पोल्ने गरिन्छ। त्यसअघि रातभर देउडा खेल्ने तथा बाजागाजासहित विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्ने गरिएको उहाँले बताउनुभयो।
यसरी बन्ढुनी पर्वले सुदूरपश्चिमको मौलिक धार्मिक विश्वास, देउडा संस्कृति र सामुदायिक एकताको परम्परालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।