होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनबाट रुवस होटलका सञ्चालक प्रकाश चन्द्र भट्ट अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
शनिबार धनगढीस्थित रुवस होटलमा सम्पन्न अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ प्रदेश समिति चयन गरेको हो। अधिवेशनले निवर्तमान अध्यक्ष दिनेश राज भण्डारीलाई निवर्तमान अध्यक्षको जिम्मेवारीमा राखेको छ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा कञ्चनपुरको गंगोत्री होटलका सञ्चालक जगदिश चन्द्र भट्ट, उपाध्यक्षमा सिद्धार्थ होटल कञ्चनपुरका सञ्चालक परमानन्द भण्डारी र महासचिवमा थर्क बहादुर शाह चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा पदम विक्रम सिंह, मानसिंह साउद, नरेन्द्र खड्का, भुवन सिंह भण्डारी, चन्द्रप्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र दिपेश शाह चयन भएका छन्।
हान सुदूरपश्चिम प्रदेशको पहिलो साधारणसभा तथा अधिवेशनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका थिए।
कार्यक्रममा हानका राष्ट्रिय अध्यक्ष विनायक शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष दिनेश राज भण्डारीले गरेका थिए।
अधिवेशनले सुदूरपश्चिममा होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान, पर्यटन प्रवद्र्धन तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउने विषयमा जोड दिएको छ।
सुदूरपश्चिम प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको दृष्टिले ठूलो सम्भावना बोकेको प्रदेश भए पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार र व्यवसायमैत्री वातावरणको अभावमा अपेक्षित लाभ लिन नसकेको व्यवसायीहरूको भनाइ छ।
नवनिर्वाचित समितिले होटल तथा पर्यटन व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने, पर्यटन पूर्वाधार विकासमा सहकार्य गर्ने तथा सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पहल गर्ने बताइएको छ।
पहिलो अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएपछि प्रदेशका होटल तथा पर्यटन व्यवसायीबीच थप एकता, सहकार्य र समन्वयको वातावरण बनेको व्यवसायीहरूले बताएका छन्।