टीकापुर उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीको सुरक्षाका लागि निःशुल्क दुर्घटना बीमा कार्यक्रम सुरु गरेको छ।
व्यवसाय सञ्चालनका क्रममा हुन सक्ने दुर्घटनाबाट व्यवसायीले व्यहोर्नुपर्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले संघले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो।
संघका अध्यक्ष सन्तोष खड्का र इन्स्योरेन्सका शाखा प्रबन्धक प्रकाश रेग्मीबीच भएको सम्झौताअनुसार संघमा दर्ता तथा नवीकरण भएका व्यवसायीले कुनै अतिरिक्त शुल्क नतिरी दुर्घटना बीमा सुविधा पाउनेछन्। सम्झौता एक वर्षका लागि लागू हुनेछ भने आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ।
बीमा योजनाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएमा बिमांक रकमको शतप्रतिशत उपलब्ध हुनेछ। यस्तै, किरिया खर्चबापत बिमांक रकमको १० प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म तथा दुर्घटनामा घाइते भई उपचार गर्नुपरेमा १ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था गरिएको छ।
घाइतेको अवस्थाअनुसार बीमाबाट थप क्षतिपूर्ति पाउने व्यवस्था समेत रहेको इन्स्योरेन्सले जनाएको छ।
टीकापुर उद्योग वाणिज्य संघले पहिलोपटक व्यवसायीका लागि यस्तो निःशुल्क दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको हो।
संघका अध्यक्ष खड्काले दुर्घटना नहोस् भन्ने कामना गर्दै अप्रिय घटना भइहालेमा व्यवसायीको आर्थिक भार कम गर्न कार्यक्रमले सहयोग पुर्याउने बताए।
“व्यवसायीलाई अप्ठ्यारो पर्दा संघको तर्फबाट केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,” उनले भने।
इन्स्योरेन्सका शाखा प्रबन्धक रेग्मीले दुर्घटना भएमा आवश्यक कागजात र प्रक्रिया पूरा गरेर व्यवसायीले सहज रूपमा बीमा दाबी गर्न सक्ने बताए। दाबी प्रक्रियामा अनावश्यक झन्झट नहुने उनको भनाइ छ।
व्यवसायीलाई सामाजिक सुरक्षासँग जोड्दै दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम टीकापुरका व्यापारी–व्यवसायीका लागि महत्वपूर्ण राहतका रूपमा हेरिएको छ।