वर्षायाममा हिलाम्मे हुने तथा पानी जम्ने समस्याका कारण अस्तव्यस्त बन्दै आएको अत्तरिया बसपार्कको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले अनुगमन गरेका छन्।
गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको आग्रहमा मन्त्री भाटले बसपार्कको स्थलगत अनुगमन गरेका हुन्। अनुगमनका क्रममा विशेषगरी वर्षायाममा बसपार्क क्षेत्रमा हुने हिलाम्मे, पानी जम्ने तथा यात्रु र सवारीसाधनको आवागमनमा देखिने समस्याबारे सरोकारवालाबीच छलफल गरिएको थियो।
अनुगमनका क्रममा मन्त्री भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए।
उनले अत्तरिया बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्वपूर्ण केन्द्र भएकाले यसको पूर्वाधार विकास र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।
“अत्तरिया बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्वपूर्ण केन्द्र हो। यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ,” मन्त्री भाटले भने, “यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको सुनिश्चितता गर्ने विषयमा पहल गर्छु। नगरपालिकासँग समन्वय गरेर बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी अघि बढ्छौँ।”
अनुगमनमा पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, स्थानीय व्यवसायी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।