भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
संघको बैठकले नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो।
संघले विपद्को यस कठिन घडीमा सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गरेको छ।
‘विपद्मा परेकालाई सहयोग गर्नु नै हाम्रो साझा मानवीय दायित्व हो’ भन्ने भावनाका साथ संघले सरकारको राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
साथै, भोटेकोसी बाढीमा परी सुदूरपश्चिमका नागरिकसमेत प्रभावित तथा केहीको ज्यान गुमेको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित तथा पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको छ।
संघले सरकारबाट घटनाको आधिकारिक तथा वास्तविक तथ्यांक उपलब्ध भएपछि थप राहत उपलब्ध गराउनेसमेत जनाएको छ।